१ चैत , काठमाडौ । थिएटरको क्षेत्रमा स्थापित नाम हो, दिव्य देव । ‘ह्यामलेट’, ‘लुक ब्याक इन एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटकमा आफ्नो अभिनय कौशल देखाइसकेका उनले केही फिल्ममा काम पनि गरेका छन् । नाटकमा संघर्ष गरिरहँदा उनले फिल्म ‘चिसो एष्ट्रे’मा अभिनय गरेका थिए । निर्माणको करीब ७ वर्षपछि चैत ४ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।
उनी ‘चिसो एष्ट्रे’लाई आफ्नो लक्की चार्म मान्छन् । उनी भन्छन्, ‘सन् २०१४र१५ सम्म म आफैं दोधारको अवस्थामा थिएँ । कुन रोलमा म सुहाउँछु भन्ने समेत थाहा थिएन । जब ‘चिसो एष्ट्रे’मा काम गरेँ धेरै बुझ्न पाएँ । यो फिल्म गरेपछि मैले थिएटरहरुमा पनि राम्रो नाटकहरु गर्न थालेँ । मैले ‘रुदाने’ फिल्मको अफर पनि यही फिल्मपछि पाएको थिएँ । यसअर्थमा यो फिल्म मेरो लक्की चार्म हो ।’
‘चिसो एष्ट्रे’मा दिव्यले गाउँबाट शहर पसेको मदनको चरित्र निभाएका छन् । मदनको चरित्र र आफ्नो जीवन भोगाईबीच धेरै समानता रहेको उनको भनाई छ । ‘२०६० सालमा म बैतडीबाट काठमाडौं पसेको थिएँ । यहाँ आएपछि मेरो जीवनमा जस्ता परिवर्तनहरु आए मदनको पनि त्यस्तै एउटा कथा छ । गाउँबाट शहर छिर्ने हरेकको भोगाईसँग मदनको भोगाई मिल्न सक्छ,’ उनले भने ।
भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । गाउँबाट सहर ९काठमाडौं० आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई फिल्मले उठाएको छ ।







