१ चैत , काठमाडौ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर अचानक भत्किएको छ । मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य छानासहितको भाग भत्किएको हो । अचानक पहिले पूर्वतर्फको भाग भत्किएलगत्तै दक्षिण तर्फको भाग पनि भत्किएको छ ।
मन्दिरको पूर्व–दक्षिण भाग भत्किएर पछि नारायण मन्दिर कुरुप देखिएको छ । करिब ६ वर्ष अगाडि मात्र तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा उक्त मन्दिरको जिर्णोद्वार गरेर गजुरमा सुनको लेपन गरिएको थियो । मन्दिरमा पुरातात्विक महत्वका बहुमूल्य काठका टुडालहरु रहेका छन् । मन्दिरको छानो भत्किएपछि अहिले सर्वसाधारणहरुलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिरको पश्चिम र उत्तरतर्फको छानो पनि भत्किने अवस्थामा छ । मन्दिरमा सर्वसाधारण तथा पुजारी नभएको बेलामा छानो भत्किँदा मानवीय क्षति भने भएको छैन ।
पाल्पाको रणउजेश्वरी भगवती मन्दिरभन्दा पनि पुरानो नारायण मन्दिर भएकाले तत्काल जीर्णोद्वारका लागि तीनवटै सरकारले ध्यान दिनुपर्ने भएको छ । मन्दिरका महत्वपूर्ण सरसमानको तत्काल रेकर्ड राखी सुरक्षित स्थानमा राख्नुपर्ने, भत्किएको मन्दिरमा पैसा बाट किन्न नपाईने अमुल्य सरसमान भएकोले २४ सै घण्टा सुरक्षाकर्मी तथा सिसी क्यामेराबाट मन्दिरको निगरानी गर्नुपर्ने सम्बन्धित सरोकारवाला अधिकारीहरु भन्छन् ।
संरक्षक देवता भगवान् विष्णुको सम्मानमा घिउको दियो प्रज्वलन गर्न भक्तहरू हरेक साँझ यहाँ आउँछन् । २१ वटा सिँढी भएको अमर नारायण मन्दिर जाने सिँढीको सुरुमा शिव महादेव मन्दिर छ ।
स्मरणरहोस, अमरनारायण मन्दिर नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा अवस्थित विष्णु मन्दिर हो । विसं १९६३ मा अमरसिंह थापाले सुन्दर बगैँचा र अटुट पानीको मुहान नजिकै उक्त कलात्मक मन्दिर निर्माण गरेका थिए । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ । मन्दिर सञ्चालन गर्नका लागि गुठीका व्यवस्थासमेत गरिएको छ ।
नेपाल एकीकरणको सिलसिलामा सबैभन्दापछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । यिनैले विसं १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो मन्दिर निर्माण गराएका थिए ।







