काठमाडौंको जोरपाटी चोकबाट नारायणटार सम्म जाने क्रममा नम्बर नखुलेको यात्रुबाहक बसमा रु. ३,५०,०००।–(अक्षरेपी तीन लाख पचास हजार) छुटेको रकम फेला पारेर सो रकम सम्बन्धित ब्यक्तिलाई बुझाउन प्रहरी सफल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राजमैनालीले बताएका छन् ।
एसपी मैनालीका अनुसार सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका २ घर भई हाल काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ सुन्दरटोल बस्ने ५३ बर्षका दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुबाहक बसमा रु. ३,५०,०००।–(अक्षरेपी तीन लाख पचास हजार) छुटेको भन्ने सूचना प्रहरीलाई हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्दबाट तत्कालै मातहत सबै प्रहरीहरुलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसहरुलाई चेकजाँच गरिएको थियो र साथै महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुबाहक बसहरु चेकजाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नं.को.यात्रुबाहक बसबाट छुटेको नगदसहितको कालो झोला फेला पार्न प्रहरी सफल भएको थियो । उक्त झोला र नगद सम्बन्धित धनि बर्ष ५३ को दासाङ शेर्पालाई बुझाइएको छ ।
साथै महानगरीय प्रहरी परिसर काठमाण्डौले सम्पुर्ण सवारीसाधन चालकलाई अनुरोध गर्दै
सार्वजनिक यातायातका सवारी साधनहरुमा यात्रुका सामानहरु यदाकदा छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारी साधनका चालक सह-चालकहरुले उक्त सामानहरु प्रहरीमार्फत सम्बन्धित धनिलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको Positive Attitude प्रति महानगरीय प्रहरी परिसर टेकु उच्च सम्मान प्रकट गर्दछ । साथै गलत नियतले कोहि कसैले सवारी साधनमा छुटेका उक्त सामानहरु नबुझाई आफूले नै लुकाई छिपाई लिने खाने नियत प्रदर्शन गरेको खण्डमा निजहरू उपर प्रचलित कानून: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ चोरी गर्न नहुने कसूरमा पक्राउ गरी अनुसन्धान गरिने ब्यहोरा समेत सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइने अनुरोध गरेको छ ।


