१८ चैत , काठमाडौ । भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।
पछिल्लो पटक पेट्रोलको मूल्य केही घटेर आएपनि डिजेल, मट्टितेल तथा हवाई इन्धन र एलपी ग्यासको मूल्य थप बढेर आएकाले निगमको पाक्षिक (१५ दिन) को घाटा ५ अर्ब २१ करोड रहने निगमले जनाएको छ ।
यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा ९आन्तरिक०, ६१ रुपैयाँ ७३ पैसा ९बाह्य० र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।
चालू आर्थिक वर्षको चैत १७ गतेसम्म निगमले करिब ३२ अर्ब रुपैयाँले नोक्सान व्यहोरिसकेको समेत निगमले जनाएको छ ।







