२६ चैत , काठमाडौं । नेपाली कांग्रेसका नेता शशांका कोइरालाले माओवादी नेताहरुको अस्तित्व जोगाउनका लागि मात्र आगामी निर्वाचनमा गठबन्धन गर्नुपरेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस एक्लै चुनाव लड्न सक्ने र एक्लै लड्नुपर्ने आफ्नो धारणा रहेता पनि माओवादी नेताहरुको अस्तित्व जोगाउनका लागि गठबन्धन गर्नुपरेको बताएका हुन् ।
आफूले एक्लै चुनाव लड्नु पर्ने धारणा राख्दा सभापति शेरबहादुर देउवाले माओवादीका नेताहरुको अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन गर्नुपर्ने धारणा राखेको स्मरण गर्दै नेता कोइरालाले बाध्यात्मक परिस्थितिमा गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने– ‘म एक्लै चुनाव लड्नु पर्छ भन्ने पक्षमा छु । तर, सभापति देउवाको धारणा प्रति सहमत छु । उहाँले भन्नु भएको थियो– ‘माओवादीका धेरै नेता निर्वाचन जित्ने अवस्थामा छैनन् । उनीहरु एमालेसँग मिले भने गत निर्वाचन जस्तै हामीले हार्नुपर्ने अवस्था बन्न सक्छ’, उहाँको यो धारणप्रति म पनि सहमत छु । त्यसैले गठबन्धन गर्नुपर्ने अवस्था बनेको छ ।’



