०८ बैशाख , काठमाडौं । गलत विवरणका आधारमा नेपाली नागरिकता लिने एक भारतीय परिवारलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जोगाएको छ । भारतको केवलपुर, रुपैडिया बहराईच घर भएका ब्रज भूषण सिंहको परिवारलाई बाँकेका सिडिओ सूर्य खत्री तथा प्रहरीले जोगाएका हुन् । उनीहरु भारतीय नागरिक भएको प्रष्ट प्रमाण हुँदा पनि कारबाही गरिएको छैन । बज्र भुषण, उनको श्रीमती रञ्जना र छोरी मनिषासँगले नेपाली नागरिकता लिएका हुन् । उनीहरुले नेपालगञ्ज नगरपालिका–२ बाट नागरिकता लिएका हुन् । उनीहरु भारतमै बस्ने भएपनि नेपाली नागरिकता समेत राख्दै आएका छन् ।
भारतीय आधार कार्डमा बज्र भूषणको जन्ममिति २०२२ साल रहेकोमा नेपाली नागरिकतामा २०४० साल राखेका छन् । उनले २०६३ सालमा चलखेलका आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा त्यसविरुद्ध प्रमाणसहित उजुरी परेपछि सिडिओ कार्यालय र प्रहरीले जोगाएको हो । छोरी मनिषाले भने २०७६ साल १५ बैशाखमा नागरिकता लिएकी थिइन् । जबकी उसको बुबाको उमेर १३ वर्ष मात्र भएको देखिन्छ ।
मनिषाले हालै भारतीय नागरिक मनोज सिंहसँग बिहे गरेको र विवाह लगत्तै फरार भई पछि सम्पत्तिका लागि डिभोर्स प्रक्रिया अघि बढेपछि यो विवाद बाहिर आएको हो । केटीको बुबाको नेपालमा करिब ५० लाख ऋण भएको र त्यो ऋण तिर्न यसरी बिहे नाटक गरी सम्पत्ति मागिएको भन्दै मनोजले उजुरी गरेका हुन् । उनी जलसेनाका क्याप्टेन हुन् ।



