१७ वैशाख , काठमाडौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गएका थिए । त्यही दिन कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप बिष्टमाथि छ ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् । काँडाघारी प्रभागले शुक्रबार विष्टलाई लैनचौर वृत्तमा बुझाएको हो । प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।






