१८ बैशाख , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले बहुमूल्य सुनाखरीसहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी मालढुङ्गाबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट शुक्रबार राती ८ बजे सुनाखरीसहित महिलालाई पक्राउ गरेको हो ।

प्युठानको स्वर्गद्वारी नगरपालिका—३ स्थायी घर भएकी देवी केसीलाई फरक फरक तौल भएका १० बोरा जडिबुटीसहित शंकास्पद अवस्थामा फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी केसीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गर्दा ती बोरामा कुल २५० किलो ४३७ ग्राम सुनाखारी भएको भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।
बहुमूल्य जडिबुटी ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त मात्रामा सुनाखरीसहित त्यसका संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त सुनाखरी बागलुङबाट काठमाडौ लैजान लागिएको अनुमान छ ।
थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी भैरहेको एसपी ज्ञवालीले जानकारी दिए।





