१९ बैशाख , काठमाडौं । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन),२०७७ लागू गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे वैशाख १४ गतेको निर्णयानुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरिएको नेप्सेले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।
याे सँगै अब ३० प्रतिशत मार्जिन राखेर सेयर किन्न सकिने भएकाे छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन),२०७७ काे मुल कार्यविधिको दफा ११ मा संशोधन गर्दै यस्ताे व्यवस्था गरिएकाे हाे ।
उक्त दफामा भनिएकाे छ, “मूल कार्यविधिको दफा ११ को उपदफा (१) को सट्टा देहाय बमोजिमका उपदफा (१) राखिएको छ :
“(१) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको शेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को तीस (३०) प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिन (Initial Margin) को रुपमा लिनु पर्नेछ । तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले तीस (३०) प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।”



