२३ बैशाख , काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले मातहतका कार्यालय प्रमुखहरूलाई स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएका छन् ।
एसएसपी सुदीप गिरीले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन काठमाडौ प्रहरी परिसर तथा मातहतको प्रहरी वृत्त र प्रभागहरूमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

गिरीले काठमाडौंको विभिन्न स्थानमा रहेका मातदानकेन्द्रहरूको अवलोकन तथा निरीक्षणको क्रममा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धी जानकारी लिएका थिए । एसएसपी गिरीले निरीक्षणको क्रममा मतदानकेन्द्रको सुरक्षा व्यवस्था बारे जानकारी लिदै चुनावमा खटिने सुरक्षाकर्मीहरुलाई शान्ति सुरक्षा कायम राख्न उच्च मनोबलका साथ सतर्क रही सुरक्षा चुनौतीको समयमा नै मूल्यांकन गरी आवश्यक प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।
एसएसपी गिरीले नेपाल सरकारले प्रहरीलाई दिएको जिम्मेवारी र प्रहरी संगठनको दायित्व बुझेर चुनौतिहरूको सामना गरी आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुको साथै कानूनलाई हातमा लिएर अराजक कार्य गर्नेलाई निरुत्साहित गर्न कुनै पनि सम्झौता नगरी निर्भिक रुपमा कार्य गर्दै विभागीय निति निर्देशन सकल दर्जाका प्रहरी कर्मचारी सम्म पुर्याउने र नेपाल सरकार गृह मन्त्रालय तथा नेपाल प्रहरीबाट भएका निति निर्देशन अनुसार कार्य सम्पादन गर्न निर्देशन दिएको बताए ।


