३० बैशाख , काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत पाँच स्थानका मतदान स्थगित भएको छ ।
विवादपछि झडपका कारण काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।
पाँचखाल नगरपालिकाको वडा नं. १३ कोशीदेखास्थित सीता मावि केन्द्रमा निर्वाचन अधिकृतले नेकपा एमाले सम्बद्ध एकजना व्यक्तिलाई चार वटा मतपत्र दिएको भन्दै गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको छ ।
निर्वाचन कार्यालयका अनुसार दुईवटा मतदान केन्द्र रहेको सो विद्यालयमा १ हजार ७७८ मतदाता थिए । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।
रामेछापको खाँडादेवी–१ मा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवारमाथि कुटपिट भएको भन्दै होहल्ला गरेपछि विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि हवाई फायर गर्नुपरेको थियो ।
यस्तै, विजयपुर नगरपालिका–३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा हवाई फायर गर्नुपरेको थियो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि मतदान स्थलमा केही व्यक्तिहरुको समूहले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो ।
उता जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीसमेत घाइते भएका छन् । यहाँ पनि मतदान स्थगित गरिएको छ ।



