गत बैशाख ३० गते सम्पन्न स्थानीय चुनावको परिणाम आउँदैछ । हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेस अग्रस्थानमा छ भने , नेकपा एमाले र माओबादी पार्टी क्रमश: दोश्रो र तेश्रो स्थानमा छन । त्यस्तै जसपा, एकीकृत समाजवादी, लोसपा र अन्य दलहरुले पनि केही पालिकाहरुमा जित हाता पारिराखेका छन । हुन त , नेपालमा प्रजातन्त्र प्राप्तपश्चात बिगत लामो समयदेखि विभिन्न तहको चुनावमा धाँदली हुँदै आइरहेको कुरा सवै जानकार नै छन ।
अहिलेको स्थानीय चुनावमा पनि प्राय: ठाँउहरुमा गरिव मतदाताको कमजोरीको फाइदा लुटेर स्वयम् उमेद्वारवाटै पैसा बाँड्दै नैतिकता र इमान्दारीता गुमाइएको छ र कयौं मतदाताहरु पनि आफ्नो अधिकार र स्वाभिमानलाई बन्दकी राख्दै चार कौडीको लोभमा फँसेका छन । कयौं ठाउँहरुमा पहिला पालिका प्रमूख भइसकेर दोहोर्याएका उमेद्वारहरुले त झन ” लुटको धन , फुपुको श्राद्द ” भनेजस्तो प्रती भोट ५०००/- देखि २००००/- सम्ममा खरिद गरेका भन्ने पनि सुनियो । अझ डरलाग्दो पक्ष त के भने अलि अलि पैसामा मत दिए दिन्छ अन्यथा गुन्डागर्दी सैलीवाट डर, त्रास र धम्की देखाएर पनि जनमत आफ्नो पक्षमा पारेको बुझिन आएको छ । यसरी एकातिर उमेद्वारलगाएत अन्य जमातहरुले मनी र मसल प्रयोग गरेर चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति अप्नाएको देखियो भने अर्कोतिर केही मतदाताहरु पनि पैसाको प्रलोभनमा परी हरेक पार्टीका जनप्रतिनिधिसँग बढी बढाउमा आफ्नो अमूल्य मतलाई पैसाको दलदलमा फँसाएको देखिन्छ ।
यसरी नेपालको परिप्रेक्षमा विभिन्न तहको चुनावी माहोल बुझ्दा के देखिन्छ भने अब कुनैपनी तहको चुनावमा उमेद्वार उठने प्रतिनिधिले मनी र मसल अर्थात पैसा र गुटका गुन्डा छैनन भने इमान्दारीता, नैतिकता र सक्षम छु भनेको भरले चुनाव जित्न धेरै कठीनाईको सामना गर्नुपर्ने हुन्छ । अर्कोतिर हरेक पार्टी भित्र उमेद्वारलाई टिकट दिने सम्बन्धमा भएको बिबादले गुट र उपगुट खडा गरि आफ्नै पार्टीभित्र एकले अर्कोलाई हराउने रणनीति तय गरेको पनि देखिन्छ । यो जस्तो घटिया प्रवृत्ती अरु के हुनसक्छ ? जसले गर्दा पार्टीप्रती निष्ठा र आस्था गुमाउँदै गरेका कार्यकर्ता र नेता चुनिएर आएपछि देशको बिकास गर्छन भन्ने ग्यारेन्टी के त ?


