१५ जेठ , काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भएको भन्ने कुनै जानकारी नआएको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताएका छन् ।
‘हाम्रै गाउँपालिका भएर विमान एयरपोर्ट पुग्ने हो । यहाँ धुम्म बादलसहित पानी परिरहेको छ, दुर्घटनाको कुनै जानकारी आएको छैन,’ गाउँपालिका अध्यक्ष गौचनले टेलिफोनमा भने । मुस्ताङको लेते क्षेत्रमा जहाज दुर्घटनामा परेको भनिए पनि त्यहाँका स्थानीयसँग गरिएको कुराकानीमा दुर्घटनाको पुष्टि नभएको उनले बताए ।
थासाङकै ३ नम्बर वडा लेतेका वडाअध्यक्ष हरि प्रसाद गौचनले पनि दुर्घटनाबारे कुनै पुष्टि नभएको बताए । ‘हाम्रै क्षेत्रको पहाड नाघेर जहाज मुस्ताङ जाने हो, यताका सबै स्थानीयहरुसँग मैले कुरा गरिरहेको छु,’ वडा अध्यक्ष गौचनले भने, ‘लेतेमा जहाज दुर्घटनाको कुनै सूचना छैन ।’यता, हराइरहेको तारा एयरले लेते पहाड छेउमा दुई राउन्ड लगाएपछि हराएको थासाङ गाउँपालिका ५ कुञ्जोका वडाध्यक्ष रमेश तुलाचनले दाबी गर्दै भने ‘मुस्ताङको कोबाङ लार्जुन क्षेत्र र लेतेमा राउन्ड लगाएपछि जहाज हराएको जस्तो देखिन्छ, लेतेको पहाडको माथि रहेका गोठालाहरुसँग सम्पर्क गर्दा अहिलेसम्म कुनै जानकारी आएको छैन ।’






