उपत्यका ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता,सवारी चालक सहचालकहरूलाई ट्राफिक नियम,सडक अनुशासन विशेष ट्राफिक अभियान सञ्चालन गरेको छ ।
उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानून कार्यान्वयनका लागि विशेष चेकिङ तथा कारवाही अभियान मार्फत उपत्यकामा हिजो मात्र ४ सय ४४ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।
सवारी चालकले सडक लेन पालना नगर्दा सडक दुर्घटना तथा जाम बढेपछि उपत्यका ट्राफिक प्रहरीले सडक लेन पालनामा कडाइ गरेको हो । चालकलाई पटकपटक ट्राफिकले सडक लेन पालनासम्बन्धी विभिन्न कार्यक्रममार्फत चेतना दिए पनि चालकले अटेर गरेपछि पालना नगर्ने चालकलाई कारबाही गर्ने गरी सडक लेन पालनामा कडाइ गरिएको हो ।
आफ्नो लेन छाडेर अर्को लेनमा जाने सवारीसाधनलाई सुरुमा प्रहरी तथा ट्राफिकले लेन पालना गर्न आग्रह गर्ने तर अटेर गर्ने तथा पटक लेन पालना नगर्ने सवारीसाधनलाई भने नियन्त्रणमा लिएर नियमानुसार कारबाही गर्ने एसएसपी उमेश राज जोशीले बताए ।
सडक लेन पालना गराउनकै लागि उपत्यका ट्राफिक महाशाखाले एसपी सन्जिव दास शर्माको कमान्डमा सडक लेन अनुगमन टेलि नै खटिएको र उपत्यकाको प्रत्येक बस स्टप, चोकमा ट्राफिक परिचालन गरिएको छ ।



