२६ जेठ , काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताउनुभयो । उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको र, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो ।

थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

महाशाखाले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।






