५ असार , काठमाडौँ । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न हुने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका बुढीगंगा–६ मोरङ घर भई सुनसरीको दुहवी–३ मा बस्ने विनोद चौधरीलाई नियन्त्रणमा लिने क्रममा शनिबार साँझ उनीबाट एक थान पेस्तोल पनि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

यस्तै एक महिनामा चोरीका २१ थान मोटरसाइकलसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । उनले भने, ‘चोरले आधुनिक प्रविधि अपनाएर बुलेट लगायतका मोटरसाइकल चोरी गरेको पाइएको छ ।’ उनका अनुसार विनोदसहित सञ्जय र मुकुन्द चौधरी यसका नाइके भएको पाइएको छ ।

मोरङमा आत्महत्या र लागूऔषधका घटना बढ्दो
मोरङमा आत्महत्या र लागू औषधका घटना बढ्दो छ । आर्थिक अभाव, नैतिक पतन, असफलता, पारिवारिक विवाद, असफल वैवाहिक सम्बन्ध, आवेग तथा हिनताबोध लगायतका कारण यस्ता घटना बढी हुने गरेको प्रहरीको ठम्यायी छ ।
गत आर्थिक वर्षभरि जिल्लामा २ सय ८१ वटा आत्महत्याका घटना थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने चालु वर्षको ११ महिनामा २ सय ८६ वटा आत्महत्याका घटना घटेको छ ।
हरेक बस्ती बस्तीमा आर्थिक अभाव, नैतिक पतन, असफलता, पारिवारिक विवाद, असफल वैवाहिक सम्बन्ध, आवेग तथा हिनताबोध लगायतका समस्या छन । एसपी कोइरालाले सञ्चारकर्मीसँग भने यिनै कारणले आत्महत्याका घटना हवात्तै बढेको प्रहरीको ठम्याई छ ।
त्यसैगरी जिल्लामा लागूऔषध ओसार पसारका घटना पनि हवात्तै बढेको कोइरालाको तथ्यांक छ । गत वर्षभरि जिल्लामा १ सय ७६ वटा लागूऔषध सम्बन्धी मुद्दा परेका थिए । चालु वर्षको एघार महिनामा २ सय ६५ वटा लागू औषधका मुद्दा दर्ता भएका छन् । यसमा खासगरी युवा युवती, चिकित्शा क्षेत्रका विद्यार्थी र धनाढय परिवारका किशोर किशोरी संलग्न पाइएको छ ।
आत्महत्या, लागूऔषधसँगै मोरङमा सामाजिक अपराधका घटनापनि बढ्दो क्रममा रहेको एसपी कोइरालाले बताए । उनका अनुसार गत वर्षभरिमा जिल्लामा १ सय १८ वटा सामाजिक अपराधका घटना भएकोमा चालु वर्षको जेठ सम्ममा १ सय ५८ वटा घटना भएका छन् । त्यसैगरी गतवर्ष घरेलु हिंसाको घटना ४ सय ३६ वटा भएका थिए । यस वर्ष जेठसम्ममा २ सय ६३ वटा भएका छन् । कोइरालाका अनुसार गत वर्षको तुलनामा यस वर्षको एघार महिनामा ज्यान मुद्दा, मानव बेचविखन, जबर्जस्ती करणी, चोरी, घरेलु हिंसा, बहुविवाह र आपसी झगडा जस्ता घटनामा निकै घटेको छ ।






