१० असार , काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने, ‘संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।’
सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरि बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिए ।
सांसद बिना पोखरेलले मनसुनी विपद्बाट हुने सम्भावित क्षति रोक्न बेलैमा तयारी थाल्न सरकारसँग आग्रह गर्दै मूल्य वृद्धि भएकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले रासायनिक मलको कमी देखिएको वर्तमान अवस्थामा किसानलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले बेलैमा मलको आपूर्ति गरी वितरणका लागि सहज अवस्था निर्माण गर्नसमेत आग्रह गरे ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले उच्च मूल्यवृद्धिले जनतालाई समस्या बनाएकाले समाधानका उपाय पहिल्याउन सरकारसँग आग्रह गरे। उनले आमाको नामबाट नागरिकता दिन सकिने कुरा कानुन नबनेका कारण समस्या उत्पन्न भएको जनाउँदै नागरिकतासम्बन्धी संविधानको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन् ।







