१५ असार , काठमाडौं । उदयपुरमा दर्जीको निर्मम हत्याको निन्दा गर्दै अजमेर शरीफ दरगाहका दीवान जैनुल अबेदिन अली खानले भारतका मुस्लिमहरूले देशमा तालिबानी मानसिकतालाई कहिल्यै पनि बढावा दिन नसक्ने बताएका छन्।
उदयपुरमा मंगलबार दुई जनाले एक दर्जीको घाँटी रेटेर हत्या गरेका थिए । अभियुक्तहरूले पैगम्बर मोहम्मदको अपमानको बदला लिन यो हत्या गरेको भन्दै भिडियो सार्वजनिक गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार खानले एक विज्ञप्ति जारी गर्दै भने, ‘कुनै पनि धर्मले मानवता विरुद्ध हिंसालाई प्रोत्साहन गर्दैन। विशेष गरी इस्लाममा सबै शिक्षाले शान्तिको स्रोतको रूपमा काम गर्दछ। इन्टरनेटमा शेयर भइरहेको भिडियोमा केही अनैतिक तत्त्वहरूले गरिबमाथि निर्मम आक्रमण गरेको देख्न सकिन्छ, जुन इस्लामिक संसारमा दण्डनीय अपराध हो।’
अजमेर शरीफ दरगाहका दीवानले अभियुक्तहरू केही कट्टरपन्थी समूहका हिस्सा रहेको बताए जसले हिंसाको बाटो अवलम्बन गर्ने उपाय मात्र खोज्छन्। उनले भने, ‘म यस कार्यको घोर भर्त्सना गर्दछु र म सरकारलाई उनीहरूविरुद्ध कडा कारबाही गर्न अनुरोध गर्दछु। भारतका मुस्लिमहरूले हाम्रो मातृभूमिमा तालिबानी मानसिकतालाई कहिल्यै पनि आउन दिने छैनन्।’
बीबीसी हिन्दी


