Comments Add Comment

तीन दशकदेखि बस्ती पहिरोको त्रासमा चिप्लाका बासिन्दा

१५ असार , काठमाडौं । मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लाका बासिन्दा तीन दशकदेखि पहिरोको त्रासमा दिन बिताउँदै आएका छन् । पहिरोले गाउँ च्याप्दै लगेपछि स्थानीय बसाइँ सर्न बाध्य बनेका छन्।

अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरे पनि पुनर्स्थापनाको लागि कुनै कार्य नभएको स्थानीय कुमीरजंग गुरुङले बताए । उनले भने, ‘पानी परेसँगै पहिरो जान सुरु गर्छ पानी पर्नासाथ गाउँले विस्थापित भएका छन्।’ गुरुङका अनुसार पहिरो झर्न थालेसँगै गाउँलेहरू बसाइँ सरेका छन् ।

पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन्। सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनले बताए । बेलबहादुुर गुरुङ प्रोजु डाँडामा सरेका छन्। उनलाई बेलायतमा रहेका बाहुनडाँडा, ताघ्रिङ र घेर्मु (बाघेता) समाजले घर बनाउन सहयोग गरेको थियो। मनजित गुरुङ गाउँमाथिको क्रमुचेमा सरेका छन्  ।

पहिरोकै त्रासका कारण चिप्लाका सुबजंग गुरुङ, रामबहादुर गुरुङ, धनसुब्बा गुरुङ पनि क्रमुचे सरेका छन्। कामराम गुरुङ बेंसी झरेका छन्। माथिल्लो गाउँका श्रीप्रसाद गुरुङ, प्रेमबहादुर गुरुङ, मनराम गुरुङ, कुमेर गुरुङ लगायत घर बनाउने तयारीमा छन्। स्थानीय आइतसरी गुरुङका अनुसार पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ। ‘जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीं बस्न बाध्य छन्। पानी पर्न थालेदेखि डराउनुपर्छ’, उनले भनिन्, ‘यो पहिले देखिकै समस्या हो।’

पहिरो घरभन्दा १०/१५ मिटर टाढा छ । ‘ठाउँ भिरालो छ । घरदेखि पहिरोसम्मका ठाउँ ठाउँमा चिरिएका छन् ’, स्थानीय दयाराम गुरुङले भने । उनका अनुसार १२ वैशाख २०७२ को भूकम्पले हल्लाएपछि पहिरोको जोखिम झनै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै