२० असार , काठमाडौं । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको यो आयोजना ठुलो मानिन्छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ ।
आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलो पानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदै छ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरीकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउने योग्य बनाउने रहेको छ ।
गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भ वायर ट्याङ्की’ र मुहानमा केही काम मात्र बाँकी रहेको बताइन्छ ।
जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ ।
प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताए ।
उनले भने, “पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाइ भएको छ ।
कोल पाटनमा एयरपोर्ट नजिकको रिजर्भ वायर ट्याङ्कीको कामसमेत अहिले अघि बढ्न सकेको छैन ।” आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ ।
पोखराभित्रका तीन वटा ठुला रिजर्भ वायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । इन्जिनियर दासका अनुसार ‘रिजर्भ वायर ट्याङ्की’को कोल पाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो ।


