२४ असार , काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सबै दलहरुको सहमतिमा नागरिकता विधेयक फिर्ताको प्रस्ताव ल्याएको बताएका छन् । संसदमा बोल्दै गृहमन्त्री खाणले तुरुन्तै नागरिकता विधेयक ल्याइने बताए ।
‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं । नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’, उनले भने ।
गृहमन्त्री खाणले बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको बताए ।
गृहमन्त्री खाणले संविधान अनुसार कानुन बनाउन भनेर तत्कालीन सरकारले विधेयक ल्याएको भए पनि त्यसलाई अगाडि बढाउन नसकेको, तत्कालीन सरकारले अध्यादेश ल्याएको त्यो पनि केही दिन कार्यान्वयन भएर रोकिएको उल्लेख गर्दै उनले अब फिर्ता लिएर नयाँ ल्याउँदा भने कानुन बन्ने दृढ विश्वास रहेको बताए ।


