२९ असार , काठमाडौँ । बागमती प्रदेशसभाको बैठकले ५ वटा अध्यादेशलाई स्वीकृत प्रदान गरेको छ । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक एकघण्टा ढिलो गरी बसेको थियो । उक्त बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’लाई स्वीकृति प्रदान गरेको हो ।
बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले.‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ युवा तथा खेलकुद मन्त्री श्री रत्न प्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले “प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए भने शून्य समयको कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखेका थिए । शून्य समयमा सत्तापक्षका ५ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए भने प्रतिपक्षका ७ जनाले धारणा राखेका थिए ।
प्रदेश र राष्ट्रको वर्तमान अवस्थाको बारेमा उनीहरुले धारणा राखेका थिए । बैठकमा सत्तापक्षका सांसदहरुले सरकार विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनुपर्ने भन्दै सुझाव व्यक्त गरेका थिए भने प्रतिपक्षका सांसदहरुले देशको आर्थिक अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुले सरकार देशलाई श्रीलङ्काको बाटोमा लैजान उद्धत रहेको भन्दै खबरदारी गरेका थिए । देशको महँगी नियन्त्रण गरेर सरकारले जनतालाई राहत दिनुपर्ने उनीहरुको भनाई छ । प्रदेशसभाको बैठक अनिश्चित कालमा लागि स्थगित गरिएको छ । सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको सभासमक्ष जानकारी गराएका थिए ।
एमालेका ६ जना सांसद् उपस्थित
प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका अधिकांश सांसदहरु उपस्थित भएका थिए भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ६ जना मात्र सांसद् उपस्थित भएका थिए । कुल ४१ जना सांसद् रहेको एमालेको ६ जना बाहेका अन्य सांसदहरु बैठकमा अनुपस्थित रहेका छन् । एमालेको आन्तरिक बैठक र पूर्वनिर्धारित कार्यक्रमका कारण उनीहरु बैठकमा अनुपस्थित भएका थिए ।
बैठकमा एमालेका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री एवम् एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार कटुवाल, शान्ति प्रसाद पौडेल, जुनेलीमाया श्रेष्ठ र देवकी श्रेष्ठ मात्र संसद्को बेञ्चमा देखिएका छन् ।
त्यस्तै बैठकमा विवेकशील साझा पार्टीका ३ मध्ये दलका नेता रमेश पौड्याल मात्रा उपस्थित रहेका थिए । बैठकमा नेमकिपाका २ जना सांसद् नै अनुपस्थित भएका थिए ।






