सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई कोटेश्वर ट्राफिक प्रहरीले कारबाही थालेको छ । ट्राफिक प्रहरीले भाडादर टाँसे-नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको कोटेश्वर ट्राफिक प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।
यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको गुनासो आएपछि अनुगमनमा थप कडाइ गर्न थालिएको छ ।
सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि अनुरोध गरेको छ । यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढि यात्रु नराख्न रस्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेको छ ।



