१४ साउन , काठमाडौँ । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंबिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले पीडितले असईं चौलागाईंबिरूद्ध दिएको जाहेरी दर्ता भएको जानकारी दिए । उनले भने, ‘अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुनेछ ।’
यही साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार मध्यराति चौलागाईंले डिउटीका प्रहरीलाई निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप छ ।
हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गरेपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको बताइएको छ । असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





