Comments Add Comment

Advertisment

SKIP THIS

नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि

१६ साउन , काठमाडौं । नवलपुरमा यो वर्ष चैतेधानको उत्पादनमा वृद्धि भएको छ। जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए।

उनका अनुसार यो वर्ष जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा तीन हजार ५६२ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष भने जिल्लामा ७०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएकोमा जम्मा तीन हजार ३६० मेट्रिक टन उत्पादन भएको हो।

चैतेधान उत्पादनमा कृषकलाई आकर्षित गर्नका लागि केन्द्रले ‘धान ब्लक’ कार्यक्रम लागू गरेको छ। पौडेलले कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको बताए। ‘चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ’, उनले भने, ‘तर, हामीले गरेको लगानी र उद्देश्यअनुसारको उत्पादन भने भएन।’

जिल्लामा विशेष गरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सीएच ४५ जातको धान रोप्ने गरिएको छ। अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम लागू भएको छ। अनुदान प्रदान गरेपछि किसान चैतेधानतर्फ आकर्षित भएका जनाइएको छ ।

‘धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ’, सूचना अधिकारी पौडेलले भने, ‘जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेका छन्।’

जिल्लामा चैतेधानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै