२८ साउन काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको कोषाध्यक्षमा विवादित ब्यापारी लीलाबहादुर लामा (टासी)लाई चयन गरिएको छ । लामा विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएको व्यक्ति हुन् ।

लामालाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो । लामा लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए । तर २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो । लामामाथि बैंक लुटपाटको अभियोग लागेको थियो ।लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकर कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए ।
लीलाबहादुर लामा उर्फ टासी
लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए ।
त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
तिनै लामालाई गएको फागुनमा पर्यटन बोर्डको सदस्य नियुक्ति गरेपछि तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आले पनि विवादमा परेका थिए । मन्त्री आलेले तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जोडबल र राजेन्द्र सापकोटा (बोर्डको सदस्य सिफारिस समिति सदस्य)कै अनुरोधमा सदस्य नियुक्ति गरेको जिकिर गरेका थिए । झाँक्रीले तिहारमा टिका लगाउने भाइ भनेपछि आफूले सिफारिस गरेको आलेले नेकपा समाजवादीका नेताहरुलाई भनेका थिए । ब्राउन सुगर र बैंक लुटपाटमा संलग्न भएको समाचार आएपछि आलेले नै उनलाई राजीनामा दिन दबाब दिएका थिए ।
लामाले राजीनामा दिन आनाकानी गरेपछि आलेले प्रहरीको सीआइबीमा कारबाही गर्न पठाउने भनेपछि उनले राजीनामा दिएका थिए । उनले बोर्ड सदस्य हुनका लागि २० लाख रुपैयाँ घुस खुवाएको पोल समेत खोल्दिने धम्की आलेलाई दिएका थिए । तर आलेले आफूले लामासँग रकम नलिएको दलिल नेताहरुसँग गरेका थिए । लामाले म्यानपावर ब्यवसायीदेखि धेरैलाई करोडौं ठगी गरेको आरोप पनि लागेको छ ।
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको २०७९ साउन १३ सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले पूर्णबहादुर कुँवरलाई अध्यक्षतामा अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी चयन गरेको थियो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । महासचिवमा यमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् । संगठनका पाँच सचिवहरूमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् ।उपाध्यक्षमा टीकाराम गुरुङ, सुधीरकुमार उपाध्याय, केदारनाथ शर्मा, महेश भट्टराई, लंकबहादुर शाही र सागर अधिकारी निर्वाचित भएका छन् ।


