२ भदौ , काठमाडौ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाले सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दृर्घटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा बृद्धी भएको जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८।०७९ मा सुदुरपश्चिम प्रदेशमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको जनाएको छ । तथ्यांक अनुसार सबै भन्दा बढी राजस्व संकलन भएको जिल्लाको रुपमा कैलाली पर्दछ जसले एक वर्षको अवधिमा ३ करोड २ लाख ५१ हजार रुपयाँ राजस्व संकलन गरेको छ भने त्यस्तै सबै भन्दा कम राजस्व संकलन भएको जिल्लाको रुपमा बाजुरा पर्दछ । जसले एक बर्षको अवधिमा १२ लाख ८६ हजार ५ सय रुपयाँ राजस्व संकलन गरेको देखिन्छ ।
सुदुरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले संकलन गरेको राजस्वको अवस्था हेर्दा बर्षेनि बृद्धी भएको देखिन्छ । आर्थिक वर्ष २०७६।०७७ मा सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७।०७८ मा एक बर्षको अवधिमा उक्त रकम बढेर ४ करोड ५७ लाख ६७ हजार पुगेको देखिन्छ । भने आर्थिक बर्ष २०७८।०७९ मा बृद्धी भएर ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको देखिन्छ ।
९७ हजारलाई सडक कारबाही
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया र मातहतका कार्यालयले एक बर्षको अवधिमा ९७ हजार जनालाई सडक कारबाही गरेको छ । ट्राफिक प्रहरीको नियमलाई बेवास्ता गरी विभिन्न प्रकारले सवारी साधन चलाएकाहरुलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरीया सुचना अधिकारी एवं प्रहरी निरीक्षक रण बहादुर बिष्टले बताए ।
कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८।०७९ मा एक बर्षको अबधीमा ९७ हजार १ सय ७ जनालाई कारबाही गरीएको थियो ।







