Comments Add Comment

Advertisment

SKIP THIS

चन्दाआतंक बन्द गर्न गुल्मी प्रहरीको एक्सन, विशेष टोली परिचालन

१० भदौ , काठमाडौं । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले कोही कसैलाई चन्दा नदिन नागरिकलाई आग्रह गरेका छन्। पछिल्लो समय चन्दाआतंक बढेपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयले संयुक्त रूपमा चन्दाआतंक रोक्न प्रयास थालेका छन्।

पछिल्लो समय विप्लपलगायतका समूहहरूले जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधि र संघ/संस्थाहरूमा चन्दा मागेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। सबै किसिमको सुरक्षाका लागि आफूहरू तयार भएको भन्दै उनले त्यस्ता सूचना नजिकको प्रहरी र प्रशासन कार्यालयमा उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले जबर्जस्ती चन्दा माग भइरहेको गुनासो बढेपछि प्रहरीको विशेष टोली परिचालन गरेको जानकारी दिए। त्यस्ता व्यक्तिको पहिचान भएकाले केही दिनमा गिरफ्तार गरिने उनको भनाइ छ। आफूहरूको संयन्त्र सदरमुकामदेखि गाउँसम्म भएकाले निर्धक्क भएर चन्दा दिनुअघि प्रहरीलाई सूचना दिन उनले आग्रह गरे। ‘गुनासो गरेर मात्रै पुग्दैन। सूचना दिएर सहयोग गरे त्यस्तो समूहलाई कारबाही गर्न प्रहरी २४सै घन्टा तयार छ,’ उनले भने।

पछिल्लो समय जिल्लामा विभिन्न नामका संगठनको नम्बरबाट फोन गरेर र कार्यालयमै उपस्थित भएर चन्दा माग्ने गरेको गुनासो बढेको छ। तर, कतिपय कार्यालय र व्यक्तिहरूले सुरक्षाको कारण देखाउँदै सुरक्षा निकायलाई जानकारी दिँदैनन्। ‘एकचोटि नभएर १० चोटि चन्दा मागेका छन्। कार्यालय सञ्चालनमै चुनौती रहेका वेला कसरी दिने चन्दा,’ एक कार्यालय प्रमुखले भने, ‘रकम दिने कि चेतावनी स्वीकार गर्ने अन्याेल भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment