१४ भदौ , काठमाडौं । नेपालमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरुमध्ये हरितालिका तीज पनि एक हो । विशेषगरी महिलाहरुको पर्व भनेर चिनिने यो तीजको विशेष धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व छ । नेपालमा पनि विभिन्न ठाउँमा विविध प्रकारले यो पर्व मनाउने प्रचलन छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएको पाइन्छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने प्रचलन छ ।
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ । खास त महिलाहरुले भोलिपल्ट व्रत बस्दा भोक नलागोस र शरीर शिथील नहोस भनेर अघिल्लो दिन राती १२ बजेसम्म विभिन्न परिकारहरु खाने चलन छ । चौथीका दिन स्नान गरी खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दत्तिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । यसरी बसिने ब्रतसँगै ठाउँठाउँमा, टोलटोलमा महिला तथा अहिले त पुरुषहरुको पनि जमघट भइ नाचगान , रमाइलो गर्ने चलन छ । जसले गर्दा श्रीमान तथा श्रीमती, परिवार, आफ्ना नातागोता, इष्टमित्र तथा समाजमा झन प्रगाढ सम्बन्ध रहन्छ ।
यसरी एकातिर तीज पर्वको महत्व बढ्दै गएको भए पनि अर्कोतिर समाजमा बिकृतीका खाडलहरु पनि गहिरीँदै गएका छन । तीजको नाममा समाजमा देखाउनकै लागि अनेक गरगहना पहिरिएर जमघट हुँदा कयौं चेलीहरुको गहना लुटिएका छन । एकछिनको रमाइलोले आर्थिकरुपमा हुने नोक्सानीको ख्याल नगरी तीज आउनुभन्दा एक महिना पहिलादेखि विभिन्न टोल , क्लव, सामाजिक संघ संस्थाहरुकासाथै राजनीतिक पार्टीका भातृ संगठनहरुले एक महिना अगाडिदेखि नै दर खाने चलन निम्त्याएका छन । अझ गाउँ भन्दा नि सहरी क्षेत्रमा यो पर्व भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप, तीज केही उत्ताउलो हुन थालेको , परिवारमा आर्थिक भार पर्ने त भयो नै जसले गर्दा यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ । अझ कतिपय महिलाहरु सकि नसकी पानी पनि नखाई पतीको लागि धर्म कमाउने नाममा व्रत बस्दा बिरामी परेर अस्पत्ताल पुर्याउन परेको अवस्था पनि छ । तसर्थ, हाम्रा विभिन्न चाडपर्वहरुको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व जति छ त्यत्तिकै मात्रामा बिकृती पनि फैलिएकोले अहिलेको यो शिक्षित समाज र राज्यले पनि यसतर्फ ध्यान दिन जरुरी छ ।





