Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामालाई समय दिएर हटाउने

१७ भदौ , काठमाडौ । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई समय दिएर हटाउने भएको छ।

अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ। अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जन बताउँछन्।

महानगरले पटकपटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनले बताए।

‘हामी कानुनीरूपमा विधि र प्रक्रिया पुर्‍याएर कारबाही गर्छौं, अनधिकृत संरचनालाई क्रमश हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्‍याउने काम गर्दैनौं, नियमअनुसार मौका दिएरै अनधिकृत संरचनाहरू हटाउँछौं।’

अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटकपटक सूचना दिइसकिएको उनले बताए। ‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनेको हो। दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्नेमा हामी सचेत छौं। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउँछ। दसैंपछि सबै अनधिकृत संरचना महानगरले हटाउँछ,’ उनले भने।

साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ।

ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरभित्रका व्यवसायीहरू आफैँ अनधिकृत क्षेत्रबाट हट्ने विश्वास गरेका छन्। ‘सकेसम्म हामी डोजर लगाउँदैनौं। अनधिकृत संरचना उहाँहरू आफैँले हटाउनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हतार र आवेगमा हामी अनधिकृत संरचना हटाउँदैनौं। केही समय दिइन्छ। समयभित्र अनधिकृत संरचना हटेन भने मात्र महानगरले हटाउने हो।’

उनले अन्डरग्राउण्ड पार्किङ खाली गर्न पनि दसैंसम्म समय दिइएको बताए।

‘घरधनीको गल्तीले व्यवसायी सडकमा आउन हुन्न। हामीले सबै विधि र प्रक्रिया पुर्‍याएपछि मात्रै अनधिकृत संरचना हटाउने हो,’ उनले भने।

अनधिकृत संरचना हटाइयो:

ललितपुर महानगरकै अधिनमा रहेको लगनखेलस्थित भवनमा नियम विपरीत बनाएको संरचना भने महानगरले हटाएको छ।
सडकपेटी नै ढाक्ने गरी संरचना बनाएपछि महानगरले त्यो संरचना हटाएको हो।

‘हामीले नियम र प्रक्रिया पुर्‍याएर व्यवसायीलाई समय दिएरै यस्तो संरचना हटाएका हौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै