राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख एआईजी रविन्द्र बहादुर धानुकले जानकारी दिए ।
यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताए ।
सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।
त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।


