सबैलाई चिन्तित बनाएको आत्महत्याको बढ्दो घटनालाई निरुत्साहित गर्न प्रहरीले प्रदेश १ सहित मुलुकभर अभियान सञ्चालन गर्दै छ । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ पारेर शनिबारदेखि विशेष अभियान संचालन गरिने भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानका बारेमा जानकारी दिएको छ । 
प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले समुदाय–प्रहरी साझेदारीलगायत प्रहरीका अन्य गतिविधि र काम कारबाहीसँग जोडेर आत्महत्याविरुद्धको अभियान संचालन गरिने जानकारी दिए । अभियान संचालन गर्दै आत्महत्या गर्न हुँदैन र अमूल्य जीवनको सदुपयोग गर्नुपर्छ भन्ने सन्देश समुदायमा प्रवाह गरिने उनले बताए ।
आत्महत्यालाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम प्रहरीको प्राथमिकतामा परेको छ । साथै कुनै मानसिक समस्या देखिएमा मनोचिकित्सकबाट काउन्सिलिङ गराउनुपर्छ भनेर प्रहरीले सन्देश प्रवाह गर्ने छ । समुदाय लक्षित कार्यक्रम, जनचेतना तथा मनोपरामर्शका माध्यमबाट आत्महत्या रोकथामको उपाय अवलम्बन गरिने जानकारी गिरीले दिए । 
मिहीन ढङ्गले अध्ययन एवम् अनुसन्धान गरी गहिराइसम्म पुगेर आत्महत्याको कारण पत्ता लगाउँदै नियन्त्रणको उपाय अवलम्बन गरिने गिरीको भनाइ छ । मानिसमा सकारात्मक सोचको विकास गराएर प्रत्येक व्यक्तिको मनोवल दह्रो बनाउन सकेमा आत्महत्या रोक्न मद्धत पुग्ने प्रहरीको बुझाइ छ । 
प्रहरीको अनुसन्धानले असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागुऔषधको दुव्र्यसन, मदिरा सेवन, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछूत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भ धारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी लगायतका कारणले आत्महत्या गर्ने क्रम बढेको देखाउँछ ।
प्रहरीका अनुसार भविष्यका बारेमा निराशाका कुरा गर्ने, आफैँप्रति घृणायुक्त कुरा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्य तथा साथीभाइबाट टाढा बस्ने, अप्रत्याशीत रूपमा छटपटी हुने, व्यक्तिको हाउभाउ एवम् व्यवहार तथा सामाजिक सञ्जालमा नैराश्यजनक स्टाटस लेख्ने आदि आत्महत्याका पूर्वसङ्केतहरु हुन् ।
यसैबीच आत्महत्या रोकथाम एवम् नियन्त्रणका लागि नेपाल प्रहरीले शनिबारदेखि मुलुकभर अभियान सञ्चालन गर्दै छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले ७ वटै प्रदेश र उपत्यकामा अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार प्रदेश १ सहित मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा काठमाडौं उपत्यकामा अभियान सञ्चालन गरिने छ ।
काठमाडौंमा गृहमन्त्री बालकृष्ण खाँणले अभियानको उद्घाटन गर्ने छन् । उद्घाटनअघि आत्महत्याविरुद्ध जनचेतनामूलक प्रभातफेरीको आयोजना गरिने डिआइजी राईले बताए । उनका अनुसार विद्यालय, विभिन्न सङ्घ संस्था, नागरिक समाज, स्थानीय सरकार, सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर अभियानलाई प्रभावकारी बनाइने छ ।


