Comments Add Comment

प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति भण्डारी

२७ भाद्र , काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताए ।

‘नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’, राष्ट्रपति भण्डारीले भने ।

प्रतिष्ठानले गर्ने कविता महोत्सवले अन्तर पुस्तागत समूहलाई प्रोत्साहन गरेको उल्लेख गर्दै उनले एक लाख २८ हजारभन्दा बढी शब्द सङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करणजस्ता कृति प्रकाशन भइरहनुपर्ने बताए । दुवै कृति आजै राष्ट्रपति भण्डारीले विमोचन गरेका थिए ।

‘सनातन संस्कृति कोष’, ‘नेपाल दर्पण’ जस्ता पुस्तक प्रतिष्ठानले प्रकाशनको तयारी गरेकामा पनि उनले सराहना व्यक्त गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय तयार भएको जानकारी गराए ।

‘प्रतिष्ठानले लेखक साहित्यकार परिचय कोश प्रकाशनको तयारी गरेको छ, प्राज्ञिक योजना पूरा गर्न सरकारले साथ दिन्छ, यसअघिका शब्दकोशको मोबाइल एप सार्वजनिक भएजस्तै आज विमोचन भएको प्रज्ञा बृहत् नेपाली शब्दकोशको पनि मोबाइल एप सार्वजनिक हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment