२ आश्विन , काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलेको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक भएको छ ।
बडादशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिक प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको ट्राफिक एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
एसएसपी भट्टका अनुसार चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरेको बताए । यस्तै भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी गरिने छ ।
मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा १५ वटा टोली सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन हुने एसएसपी भट्टले बताए । सादा पोसाकका ट्राफिक प्रहरीले फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ । त्यस्तै टिकट मूल्यअनुसार लिएको छ, छैन चेकजाँच गर्नेछ ।
टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था समेत गरिएको एसएसपीको भनाइ छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी कार्यालय १०० वा १०३ नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणसँग अपिल गरे ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सार्वजनिक गरेको ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको प्रविधिबाट हेरिने उल्लेख छ । २ जना चालक भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट हेर्नसक्ने एसएसपी भट्टको भनाइ छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने ट्राफिक कार्यालयको दावी छ ।
यस्तै मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने बताइएको छ । बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण सुरु गरिएको पनि ट्राफिकले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी एसएसपी राजेन्द्र प्रसाद भट्टले थानकोट,नागढुङ्गा,जगाती,फर्पिङ र बालाजुबाइपास र काठमाडौँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधनहरुमा पनि चेकिङ हुने जानकारी दिए । नागढुंगातर्फ जाने सवारी साधनहरुलाई कलंकी चोकमा चेकिङ हुन्छ ।
एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार काठमाडौँ उपत्यकामा मापसे चेकिङमा कडाइ गरिने समेत बताए । उनले भने, दिउसो र रातको समयमा ३-४ पटकसम्म मापसे चेकिङ हुन्छ ।’ उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने एसएसपीको भनाइ छ ।

उपत्यकाको ९ ठाउँमा थप मापसे चेकिङ हुने एसएसपी भट्टले बताए । यसअघि पहिलो चरणमा सिंहदरबार, महाराजगञ्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कालीमाटी, फर्पिङ, भैसेपाटी, चापागाउँ, स्वयम्भु, कीर्तिपुर, जावालाखेल, भक्तपुर, दरबारमार्ग, टोखा, थानकोट र काँडाघारीले चेकिङ गर्छ ।
दोस्रो चरणमा बौद्ध, कलंकी, थापाथली, सोह्रखुट्टे, कमलपोखरी, कमलविनायक, मंगलबजार, गठ्ठाघर, एयरपोर्ट, सानेपा, जनसेवा, बुढानिलकण्ठ, नयाँबसपार्क, सुकेधारा, ठमेल, कपन, नागढुङ्गा र बल्खुले मापसे चेकिङ गर्नेछ ।
भीडभाड एरियामा थप ट्राफिक प्रहरी परिचालन
महाशाखाले उपत्यका भित्रिने नाका, व्यपारीक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी भट्टका अनुसार ३५ स्थानहरुमा नियमित ड्युटीका लागि २३० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १०० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको समत एसएसपी भट्टले जानकारी दिए ।
दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौँका मुख्य स्थानहरुमा डाइभर्सनको समेत व्यवस्था गरिनेछ । जस्तै न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगञ्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुर गुहेश्वरी, कमलपोखरी, बागमति नदीको किनार थापाथली, शंखमुल दोभान, बल्खु क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाइएको उपत्यका ट्राफिकले जनाएको छ ।
उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष
अनुसार उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन आएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
सर्वसाधारण यात्रीहरुलाई सुरक्षा सम्बन्धी सू–सुचित गर्नको लागि यात्रु सहायकता कक्षले मनिटरिङ गर्ने एसएसपी भट्टले जानकारी दिए । यात्रुहरुको पिरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा मनन् गरी आवश्यक सहयोग हुन्छ,’ एससएपी भट्टले भने ।


