२ कार्तिक , काठमाडौं । नेपाल चलचित्र संघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हलमा नाइट शो खुलाउन आग्रह गरेको छ ।
नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार मन्त्रालयले प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ । मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेल र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भएको थियो ।
वार्तामा चलचित्र संघले १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने चलचित्र विकास बोर्डको निर्णयबारे पुनर्विचार गर्न मन्त्रालयलाई आग्रह गरेको थियो । ‘साँझमै हल बन्द गर्दा यसले पर्यटन समेत प्रभावित हुने भएकाले यसमा पुनर्विचार गर्न आग्रह गर्यौं,’ भेटमा सहभागी संघका सदस्य सुरेन्द्र थापाले बताए ।
साथै, एक साताअघि नै सेन्सर गर्नुपर्ने बोर्डको निर्णयबारे पनि पुनर्विचार गर्न चलचित्र संघले सुझाएको छ ।







