Comments Add Comment

Advertisment

SKIP THIS

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

४ कात्तिक , काठमाडौं । सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त छन् तेह्रथुमको म्याङ्लुङ् नगरपालिका–९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उनलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ ।

तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो । उनी लामो समयदेखि यही पेशामा आबद्ध हुनाका साथै गुजरासमेत गर्दै आएका छन् । भेषमा लागेको खरिको कालो धुलो हातले टक्टक्याउँदै लामगादेले भने , ‘हामीलाई असारको १५ भएको छ । न भात खाने फुर्सद छ न त मादल बनाउन बिसाएर कसैसँग एकैछिन बोल्ने फुर्सद नै । बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म यतिकै धमाधम हुन्छ हामी बूढाबूढीलाई । तिहारमा मात्रै काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारो चलेको छ ।’

आफ्नो बुबाबाट सिकेको सीपलाई आफूले उपयोग गरे पनि आफ्ना छ भाइ छोराको पालनपोषण र शिक्षामा कमी हुन दिनु भएन । मादलबाट भएको आम्दानीले गुजारा चलाउँदै आइएको उनको भनाइ छ । तिहारको समय देउसीभैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुइँचो लागेपछि उनी यतिबेला बेफुर्सदिलो बन्न थालेका छन् । बिहान ६ बजेदेखि राति ११ मादलकै काममा व्यस्त हुन्छन् ।

तिहारको समय दैनिक पाँच/सात जना नयाँ मादल किन्ने र त्यतिकै मात्रामा बनाउनेहरू आउँछन् । नयाँ किन्नेभन्दा नी मर्मत गर्ने बढी आउने गर्दछन् । पहिले पहिले तिहारमा मात्र बिक्री हुन्थ्यो तर यतिबेला गाउँगाउँमा भजनकीर्तनले गर्दा अरुबेला पनि मादलको माग बढ्न थालेको लामगादेकी श्रीमती विष्णुमाया बताउँछन्।

एउटा मादल रु दुई हजारदेखि सात हजारसम्ममा बिक्री गर्ने गरेको लामगादेको भनाइ छ । मर्मत गरेको मादल आठ सयदेखि एक हजार २०० सम्म लिने गरेको उनले उल्लेख गरे । अझ तिहारको समयमा त दिनको १५/१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको लामगादे दम्पतीको भनाइ छ । उनका अनुसार असोजदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत पनि हुने गर्दछ ।

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुरले बताए। उनले पनि लामो समयदेखि यो पेशा गर्दै आउनुभएको छिमेकी अर्जुन काफ्लेको भनाइ छ ।

तिहारका समयमा दिनमा तीन/चार वटा नयाँ मादल बिक्री हुने गरेको र ९/१० वटा मर्मत गर्ने गरिएको मानबहादुरले जानकारी दिए । ‘तिहारका समय मात्रै रु ६०/७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ’, उनले भने।

उनीहरु यो समय मादल मोड्ने, गोठी हाल्ने, ढाक्नेजस्ता काममा व्यस्त छन् । काठ, बाख्रा वा भैँसीको छाला, अङ्गार, किट, खरीलगायत सामग्री मिसाएर उनीहरुले मादल तयार पर्ने गरेका छन् । मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने भएको छ । मौवा, खिर्रो, मलेतोलगायत काठबाट मादलका लागि ढुङ्ग्रो बनाउने गरिएको छ । मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिने लामगादेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै