Comments Add Comment

राप्रपाले समानुपातिकमा ३० लाख भोट ल्याउँछ

६ कार्तिक , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दावी गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत् र छट पर्वका अवसरमा गरेको कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने बताएका हुन् ।

उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने–‘आगामी मंसिर ४ गते देशमा सबैभन्दा ठूला महायज्ञ हुँदैछ । त्यो महायज्ञमा हामीले सही पार्टी, सही र सही सिद्धान्त बोकेका सही नेतृत्व छान्न आवश्यक छ । त्यो मौका गुमाइयो भने यो महायज्ञ असफल हुनेछ ।’

उनले राप्रपा नेपाली संस्कार, संस्कृति, हिन्दू धर्म र परम्परालाई जोगाउन २०६२/६३ को आन्दोलनदेखि लगेको बताए । मुलुकमा राजासहितको प्रजातन्त्रलाई स्थापित गर्दै संघीयता खारेजीको लागि लडिरहेको सुनाए । अध्यक्ष लिङ्देनले राप्रपाले प्रदेशको विरोध गरिरहँदा कतिपयले प्रदेशको विरोध गर्ने अनि त्यसैमा उम्मेदवारी दिने भन्दै प्रश्न उठाएकोप्रति भने–‘हामीले प्रदेशमा उम्मेदवारी दिएनौँ भने जसले प्रदेश चाहिन्छ भनेर भागबण्डा गरी खाइरहेका छन् तिनीहरु फेरि त्यहाँ प्रतिनिधित्व गरेर आउँछन्, हामीलाई छिर्न दिँदैनन् । त्यसैले हामीले पनि त्यसमा भाग लिएर विजयी भइ संसदमा पुगेर प्रदेशको खारेजीको पहल गर्नुपर्छ भन्ने लागेर प्रदेशमा उम्मेदवारी दिएका हौं ।’

उनले मुलुक अहिले गलत नेतृत्वका कारण ठीक ढंगले अगाडि नबढेको प्रति लक्षित गर्दै सही नेतृत्व र सिद्धान्त लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उल्लेख गर्दै जनतालाई मत दिन आग्रह गरे । उनले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार कुन्तीदेवी पोखरेललाई विजयी गरेर पठाउन आग्रह गरे ।

उनले विपक्षी दलहरुले सानो पार्टी भनेर हेला गर्ने गरे पनि यसपटकको निर्वाचनमा जनताले राप्रपालाई अगाडि बढाउने बताए । उनले काठमाडौं महानगरपालिकाको चुनावको उदाहरण दिँदै सुरुमा बालेन शाहलाई विपक्षीले खिसी टिउरी गर्ने गरेपनि भोटको बाकस खोल्ने बेला जनताले जवाफ दिएको बताए । आगामी निर्वाचनमा पनि राप्रपालाई जनताले अमूल्य मत दिएर विपक्षी दलहरूलाई जवाफ दिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै