१९ कार्तिक , काठमाडौँ । दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले अत्याधिक मतान्तरले गठबन्धनले जित्ने बताएका छन् ।
दाङको देउखुरीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले राष्ट्र र संविधानको रक्षा गर्नेभएकाले अत्याधिक मतान्तरले निर्वाचन जित्ने दावी गरेका हुन् ।
‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ’ उनले भने, ‘जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो ।’ नयाँ संविधानमार्फत् प्राप्त संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको उनको भनाइ छ ।
संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत् विकास निर्माणको अगुवाइ गर्ने गठबन्धनको प्रतिवद्धता रहेको बताउँदै उनले जनताको चाहना पनि त्यही भएको बताए ।
मन्त्री चौधरीले भने, ‘पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’
जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै उनले गठबन्धनलाई जनताले जिताउने निश्चित रहेका भन्दै पाँचवटै राजनीतिक दल विकास र समृद्धिका लागि जवाफदेही हुनुपर्ने बताए ।





