२६ कात्तिक , काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रह जस्तै भएको बताएका छन् । शनिबार चितवनमा गठबन्धनले आयोजना गरेको चुनावीसभामा बोल्दै अध्यक्ष दाहालले मंसिर ४ को निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रह जस्तै भएको बताएका हुन् ।
अध्यक्ष दाहालले भनेका छन्, ‘चितवनवासी जनसमुदायलाई म अपील गर्न चाहन्छु, हामीले इतिहासको यो अवसरलाई विल्कुल गुम्न दिनु हुँदैन । यो निर्वाचन वास्तवमा विकास, समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने हो या अराजकता, निरंकुशता, सामन्तीतन्त्रतिर लैजाने भन्ने जनमतसंग्रहजस्तो हुँदैछ ।’
यस अगाडि अध्यक्ष दाहालले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘जसरी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रदर्शन हामीले र्गयौं, त्यसैगरी आउने मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन् । स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ ।’
यसका साथै गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन बनेको हो । यो गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको छ ।’
उनले थप भनेका छन्, ‘मुख्यतः स्थानीय तह निर्वाचन गठबन्धनको तर्फबाट सम्पन्न गरियो । ७५३ वटा स्थानीय तहको सरकार ५ वर्षका लागि बनेका छन् । प्रतिगमनको खतरा कम बन्दै गएको छ, अग्रगमन विजयी बन्दै गएको छ ।’






