१५ मंसिर , काठमाडौं । सरकार गठनका लागि सत्ता गठवन्धन दलभित्र सिट नपुग्ने भएपछि सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरू अन्य दलहरुसंग सहयोग माग्न थालेका छन् ।
सत्ता गठवन्धनका केहि नेताहरु सरकार गठनका लागि सहयोग माग्दै रेशम चौधरीलाई भेट्न जेलमै धाइरहेका छन् । तर बेला नागरिक उन्मुक्ति पार्टीले चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको छ ।
चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ । स्रोतका अनुसार चौधरीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेसका शीर्ष नेताहरूले भेटेर सरकार बनाउन सहयोग मागेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।
यसैगरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।



