२५ मंसिर , काठमाडौ । बैंकिङ कसुर मुद्धामा फरार रहेका नयाँ बसपार्कस्थित सेवारो, तुमिरो होटलका संचालक पूर्णकुमार चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्णकुमारलाई बालाजु प्रहरीले बैकिङ कसुर मुद्धामा आईतबार बिहान ९ बजे नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीबिरुद्ध आधा दर्जन बढी व्यक्तिले करोडौँ रुपैयाँ चलाएर तोकिएको समयमा नदिने तथा चेक बाउन्स गर्ने गरेको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
केही महिना अघिबाट नै पूर्णकुमारबाट ठगिएको भनि विभिन्न व्यक्तिबाट निवेदन तथा गुनासो आएपछि प्रहरीले उनले प्रयोग गरेको खाता तथा बैंक विवरण हेरेको थियो ।
विभिन्न अनुसन्धानपछि दोषी देखिएका पूर्णकुमारलाई प्रहरीले फरार सूचीमा राखेको थियो । तर उनी पक्राउ पर्न सकेका थिएनन् । करिब ४ महिना पछि उनी काठमाडौं महानगर – १६ वसन्तनगरस्थित उनकै होटलबाट पक्राउ परेका हुन् ।
उनले विभिन्न व्यक्तिबाट करिब २ करोड रकम ठगी गरेको गुनासो प्रहरीमा आएको छ । धेरैजसो व्यक्तिलाई आफ्नो गग्गाको प्रलोभन तथा अन्य सम्पतिको प्रलोभन देखाएर उनले रकम लिने गरेको, तर पछि मिलान नगर्ने गरेको पाइएको छ ।
त्यस्तै रकम तिरेको बहाना गर्दै खाली चेक दिने तथा आफ्नो नामको जग्गा भन्दै अन्यको स्वामित्वको जग्गा नामसारी गरिदिन्छु भन्दै आश्वसन दिने गरेको खुलेको छ ।
पक्राउ परेका पूर्णकुमारलाई थप अनुसन्धानका लागि बालाजु प्रहरीले महानगरीय पहरी वृत्त दरबार मार्ग पठाएको जनाइएको छ ।
पूर्णकुमार पाँचथर फाल्गुनन्दका हुन् । उनी करिब दुई दशकदेखि नै काठमाडौंमा होटल व्यवसाय गर्दै आएको बुझिएको छ ।



