Comments Add Comment

Advertisment

SKIP THIS

खरको छानामुक्त हुँदै खजुरा

२८ मंसिर , काठमाडौं । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ । उनले भने, ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौँ अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ । अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौँ,’ उनले भने, ‘खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान सुरु गरेका हौँ, ।’

हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए। गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी भएका छन् ।

खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवार बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाको तथ्यांक संकलन पनि गरिरहेको छ तथ्याङ्कका आधारमा सबै खरछानामुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै