Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन् विश्वकपमा आफ्नो वर्चस्व कायम गर्न सफल ६ खेलाडी

३ पुष , काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेल आज आइतबार हुँदैछ । फिफा विश्वकप प्रतियोगिताको आइतबार हुने अन्तिम खेलमा आर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी देशलाई फाइनलसम्म पुर्‍याउन लियोनेल मेस्सी र किलियान एम्बाप्पेले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

अब बिश्वभरका खेलप्रेमीहरुको मनमा एउटै प्रशन छ के आर्जेन्टिनाले उपाधि उचाल्दै यसपालिको प्रतियोगितालाई मेस्सीको विश्वकपका रूपमा स्मरण रहने तुल्याउने छ या एम्बाप्पेले चार वर्षअघि रुसमा फ्रान्सले रचेको इतिहास दोहोर्‍याउन मद्दत गर्नेछन् ?

विगतमा आफ्नो टोलीलाई विश्वकप जिताउन धेरै खेलाडीहरुको ठुलो योगदान रहेको छ । त्यसमध्यका विश्वकप जिताउन उल्लेख्य भूमिका खेलेका ६ जना खेलाडीहरु यस्ता छन् ।

पेले, ब्राजिल
सन् १९५८ मा पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित ब्राजिलको फुटबल टोली स्वीडेन पुग्दा पेले १७ वर्षका थिए। उनले प्रतियोगिताको पहिलो दुई खेल खेल्न पाएनन्।

अग्रपङ्क्तिमा खेल्ने पेलेले त्यसपछि भएको तत्कालीन सोभियत सङ्घसँगको खेलमा भने ब्राजिललाई २-० अन्तरले जिताए।त्यसपछि क्वाटर फाइनलमा वेल्ससँगको खेलमा एक मात्र गोल गर्न सफल भए जसको आधारमा ब्राजिलले खेल जित्यो।

त्यसपछि पेलेले पछाडि फर्केर हेर्नुपरेन। सेमिफाइनलमा फ्रान्सलाई ५-२ अन्तरले हराउँदा पेलेले ‘ह्याट्रिक’ गरेका थिए भने फाइनलमा स्वीडनलाई ५-२ अन्तरले नै हराउँदा उनले दुई गोल गरे।

आफ्नो खेल जीवनमा उनले तीन पटक विश्वकप जिते। सन् १९६२ को विश्वकपमा घाइते भएका कारण उनले सुरुको दुई खेल मात्रै खेलेका थिए। त्यसपछि सन् १९७० को विश्वकपमा उनले निकै राम्रो प्रदर्शन गरे। प्रतियोगितामा चार पटक गोल गरेका उनले इटलीसँगको फाइनल खेलमा निकै राम्रो सुरुवाती गोल गरेका थिए। उक्त खेल ब्राजिलले ४-१ अन्तरले जितेको थियो ।

म्यारीओ क्यामपेज, आर्जेन्टिना
आर्जेन्टिनाले दुई पटक विश्वकप जितेको छ र यी दुवै जीतमा एकजना खेलाडीले उल्लेख्य भूमिका निर्वाह गरेका छन्।

घरेलु मैदानमा भएको सन् १९७८ को प्रतियोगिताका ती एक खेलाडी म्यारीओ क्यामपेज हुन्। ला लीगामा भ्यालेन्सिया क्लबबाट खेल्ने उनी उक्त लिगमा लगातार दुईवटा सिजनुमा सर्वाधिक गोलकर्ता हुँदै प्रतियोगितामा सहभागी हुन आएका थिए।

र, आर्जेन्टिनी टोलीमा उनी मात्रै यस्ता खेलाडी थिए जसले आफ्नै देशमा बसेर फुटबल खेलेका थिएनन्। समूहगत चरणका खेलहरूमा उनले गोल गर्न सकेनन्।

तर त्यसपछिको चरणमा पोल्यान्डसँग २-० अन्तरले जित्दा दुवै गोल उनले गरे भने पेरुसँग ६-० अन्तरको जितमा आर्जेन्टिनाका लागि पहिलो अनि तेस्रो गोल उनले गरे। यो जितले आर्जेन्टिनालाई फाइनलमा पुर्‍यायो। बुइनोस आइरिसमा नेदरल्यान्डससँग भएको खेलमा उनले गरेको दुई गोल सहित ३-१ अन्तरले आर्जेन्टिनाले विश्वकप जितेको थियो ।

उनले पहिलो पटक आर्जेन्टिनालाई विश्वकप मात्रै जिताएनन् प्रतियोगिताका सर्वाधिक गोलकर्ता अनि उत्कृष्ट खेलाडी पनि बन्न सफल भए।

पाउलो रोसी, इटली
सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा सहभागीता जनाउन इटलीका अग्रपङ्क्तिका खेलाडी पाउलो रोसी मैदानमा फर्किए।

सिरी-ए लिग फुटबलमा ‘म्याच फिक्सिङ्’ गरेको आरोपमा उनी दुई वर्ष प्रतिबन्धमा परेका थिए।उनलाई विश्वकप खेल्ने टोलीमा समावेश गरेकोमा इटलीका प्रशिक्षकको त्यहाँका सञ्चारमाध्यमले आलोचना गरेका थिए।

तर खराब सुरुवातपश्चात् सेमिफाइनलमा पुग्नका लागि ब्राजिलसँग भएको खेलमा उनले ‘ह्याट्रिक’ गरे। त्यसपछि पोल्यान्डसँग भएको खेलमा इटलीले २-० गोल अन्तरले जित्दा दुवै गोल उनले नै गरेका थिए भने फाइनलमा जर्मनीलाई ३-१ अन्तरले हराउँदा पहिलो गोल उनले गरे।

छ गोलका साथ उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने र ‘गोल्डेन बुट’ जिते। प्रतियोगिताका ‘बेस्ट प्लेअर’ का रूपमा उनले ‘गोल्डेन बल’ पनि जिते।

डिएगो म्याराडोना, आर्जेन्टिना
सन् १९८६ मा मेक्सिकोमा आर्जेन्टिनाले दोस्रो पटक विश्वकप उचाल्दा कप्तान डिएगो म्याराडोनाले उदाहरणीय नेतृत्व गरेका थिए।

समूह चरणमा इटलीसँग १-१ को बराबरी भएसँगै आर्जेन्टिना समूह विजेता बनेको थियो। आर्जेन्टिनाका लागि गोल गर्ने म्याराडोना थिए। क्वाटर फाइनल खेलमा उनले दुई गोल गरे र २-१ अन्तरले इङग्लयान्डलाई हराए। पहिलो गोल चर्चित ‘ह्यान्ड अफ गडु गोल थियो जुन म्याराडोनाले’ मुठ्ठीले बललाई गोल पोस्टमा छिराएका थिए।

तर दोस्रो गोल भने विश्वकपमा सबैभन्दा गज्जबको गोल मध्ये एक मानिन्छ। बेल्जियमविरुद्ध सेमिफाइनल खेलमा उनले दुई गोल गरे र आर्जेन्टिनाले २-० ले खेल जित्यो।

त्यसपछि पश्चिम जर्मनीसँगको नाटकीय खेलमा आर्जेन्टिनाले ३-२ अन्तरले जित्दै गर्दा उनले उल्लेख्य भूमिका निर्वाह गरे। पाँच गोल अनि गोलका लागि पाँच वटा पास दिएका कारण म्याराडोनाले प्रतियोगिताका सबैभन्दा कुशल खेलाडीका रूपमा ‘गोल्डेन बल’ जिते ।

जिनेदिन जिदान, फ्रान्स
फ्रान्समा सन् १९९८ मा विश्वकप आयोजना हुँदा कुशल सिप भएका मध्यपङ्क्तिका खेलाडी जिनेदिन जिदान उसका मुख्य खेलाडी थिए।

प्रतियोगितामा फ्रान्सले गरेको पहिलो गोलका लागि उनले पास दिएका थिए। साउदी अरेबियासँगको खेलमा पनि उनको भूमिका उल्लेख्य थियो।

४-० अन्तरले फ्रान्सले जितेको खेलमा उनलाई रेफ्रिले मैदान बाहिर पठाए । त्यसपछि उनले डेनमार्कसँगको तेस्रो खेल अनि नकआउट चरणमा पराग्वेसँगको खेल खेल्न पाएनन्।

तर क्वाटर फाइनलमा इटलीसँग भएको खेलमा उनी फर्किए र ‘पेनाल्टी शुट’ गोलमा परिणत गर्दै इटलीलाई घर फर्काए। सेमीफाइनलमा क्रोएशिया विरुद्ध २-१ गोल अन्तरले जित्न उनले सहयोगी भूमिका निर्वाह गरे।

ब्राजिलसँगको फाइनल खेल फ्रान्सले ३-० अन्तरले जित्दै गर्दा उनले दुई पटक टाउकोले गोल हाने। दुई वर्षपछि भएको सन् २००० को युरोमा उनी ‘बेस्ट प्लेअर’ घोषित भए र त्यस वर्षको युरो कपको उपाधि पनि फ्रान्सले जित्न सफल भयो।

रोनाल्डो, ब्राजिल
सन् १९९८ को विश्वकप प्रतियोगिताको फाइनल खेल ब्राजिलको अग्रपङ्क्तिका खेलाडी रोनाल्डोका लागि सबैभन्दा ठूलो मौका हुने अपेक्षा गरिएको थियो।

तर खेल सुरु हुन अगावै उनी मिर्गीको सिकार भए। खेल सुरु हुन अघि उनको नाम ब्राजिलको टोलीमा समावेश थिएन। तर उनी मैदानमा उत्रिए। फ्रान्ससँग ३-० को अन्तरले हार्दा रोनाल्डोले प्रभाव पार्नै सकेनन्। सन् १९९९ मा उनको घुँडामा गम्भीर चोट लाग्यो र उनको खेलजीवन समाप्त हुने जोखिम समेत देखा पर्‍यो।

तर त्यसपछि उनी गजब्ब रूपमा खेलजीवनमा फर्किए। सन् २००२ मा जापान अनि दक्षिण कोरियामा संयुक्त रूपमा भएको विश्वकपमा रोनाल्डको प्रदर्शन उत्कृष्ट रह्यो।

सात खेलमा उनले आठ गोल गरे। समूह चरणका तीन खेलमा उनले चार गोल गरे। त्यसमध्ये एक गोल टर्कीसँगको २-१ अन्तरको खेलमा, अर्को चीनसँगको ४-० अन्तरको खेलमा अनि दुई गोल कोस्टारीकासँगको ५-२ अन्तरको खेलमा उनले गरेका थिए।

त्यसपछि बेल्जयमलाई नकआउट चरणमा २-० अन्तरले हराउँदा उनले एक गोल गरे, सेमिफाइनलमा टर्कीलाई घर फर्काउन आवश्यक एक मात्र गोल गरे अनि फाइनलमा जर्मनीलाई २-० अन्तरले ब्राजिलले हराउँदा दुवै गोल रोनाल्डोले गरे।

आठ गोलसहित एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी उनी हुन। हालसम्म नतोडिएको यो कीर्तिमानी यसपालि मेस्सी र एम्बाप्पेले तोड्न सक्ने सम्भावना भने जीवितै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै