१८ पुष , काठमाडौं । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले पनि कार्यक्रमको सुरुवात गरेको हो ।
कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ । कृषि विभागका अनुसार लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण रहेको छ ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा कोदोले ओगट्दै आएको छ । नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।






