२४ पुष , काठमाडौं । काभ्रे जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग हिजाेदेखि बन्द गरिएका छन्। जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको थियो।
जिल्लास्थित विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले आजदेखि जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग बन्द गर्ने निर्णय गरेको हो। बैठकले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननबाट विपद्जन्य घटना घटिरहेको निष्कर्षसहित प्रचलित कानुनविपरीत ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न अवैधानिक क्रसर तथा खानी उद्योग बन्द गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए।
ठीक विपरीत काठमाडाैँकाे बुढानिलकण्ठमा रहेकाे अबैध बालुवा वासिङ भने जनप्रतिनिधिकाे राेहवरमा बेराेकटाेक चलिरहेकाे छ । बुढानिलकण्ठ १३ मा च्यानेखाेलामा रहेकाे याे अबैध वासिङले प्रकृति दाेहन गरेकाे ३ वर्ष पुग्न लाग्दा पनि स्थानीय सरकार अवैध काममा दाहिने भैदिँदा राेक्न सकिएकाे छैन । वडाध्यक्षदेखि मेयरसम्म अबैध बालुवा वासिङकाे न्यानाेमा रमाउँदा प्रकृति विनाश भएकाे छ । यसबारे स्थानीय तथा अन्यले उठाएकाे आवजलाइ तीनवर्षदेखि कुल्चिँदै आएकाे छ ।






