प्रहरी छानबिनमा राष्ट्र बैंककै कर्मचारी -
Comments Add Comment

प्रहरी छानबिनमा राष्ट्र बैंककै कर्मचारी

२६ पुष , काठमाडौं । राजनीतिक संरक्षणमा विदेशबाट शंकास्पद रकम भित्र्याउँदै आएका अछामका पृथ्वीबहादुर शाह पक्राउ परेपछि यसले धेरै उच्चपदस्थ व्यक्तिहरू समेत डराएका छन् । शाहले यसअघि अवैध रुपमा रकम भित्र्याउन सफल भएकाले त्यतीबेला सहयोग गर्नेहरू समेत छानबिनमा तानिने सम्भावना छ ।

अमेरिकामा ठगीको पैसा उनले नेपालमा ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अपराधिक पैसा ल्याउने गरेको पुष्टि भएपछि सो पैसासँग जोडिएका अन्य व्यक्ति पनि छानबिनमा तानिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गत शुक्रबार शाह र उनका अन्य पाँच साझेदारलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनले अमेरिकाबाट करिब ६५ करोड रुपैयाँ बराबरको रकम ल्याइएको पाइएको छ ।

त्यसमध्ये करिब ४० करोड नेपाल राष्ट्र बैंकले रोक्का राखेको छ । सोही पैसा फुकुवा गर्न शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेका थिए । शर्माले गर्भनर महाप्रसाद अधिकारीलाई पैसा फुकुवा गर्न दबाब दिँदा नमानेपछि निलम्बन गरेका थिए । पछि सर्वाेच्चले सो निर्णय कार्यान्वयन गराउन रोकेको थियो ।

सरकार फेरिए लगत्तै प्रहरीले यो घटनाको अनुसन्धान थालेको हो । शाहविरुद्ध एकातर्फ अमेरिकाबाट उजुरी आएको छ भने अर्काेतर्फ नेपालका बैंकहरूले समेत जाहेरी दिएका छन् । अमेरिकी नागरिकहरूले आफ्नो खाताबाट पैसा चोरिएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावास हुँदै उजुरी गरेका हुन् ।

त्यस्तै, पैसा निकाल्ने क्रममा नक्कली कागजपत्र प्रयोग गरेको भनेर बैंकहरूले शाहविरुद्ध उजुरी दिएका छन् । उनले विदेशबाट आएको पैसा निकाल्नकै लागि विभिन्न कम्पनीहरू खडा गरेका थिए । त्यसरी कम्पनीको नाममा पैसा निकाल्दा आवश्यक कागजपत्र नक्कली बनाएर पेश गरेको पाइएपछि बैंकहरूले उजुरी गरेका हुन् ।

राष्ट्र बैंक र बैंकका कर्मचारीलाई प्रभावमा पारेर उनले यसअघि करिब २५ करोड रुपैयाँ निकालिसकेका थिए । त्यो प्रकरणमा बैंककै कर्मचारीसमेत फस्ने अवस्था आएपछि उनीहरूले उजुरी दिएको स्रोत बताउँछ । त्यस्तै, उनको पैसा यसअघि कसरी फुकुवा भयो भन्नेमा पनि सिआइबीले छानबिन थालेको छ । त्यसमा राष्ट्र बैंकका कर्मचारीसमेत छानबिनमा तानिने सम्भावना छ ।

यो घटना सम्पत्ति शुद्धीकरणको विषयसँग जोडिएको छ । हालै अन्तर्राष्ट्रिय मुल्याङकनले नेपाल कालोसूचीमा पर्न सक्ने जोखिम देखाएको छ । यस्तो अवस्थामा राष्ट्र बैंकलाई नै दबाब दिएर अपराधिक पैसा बैंकिङ माध्यमबाटै कारोबार हुने गरेको खुलेपछि विषय गम्भीर बनेको छ ।

यसमा प्रहरीले सतही अनुसन्धान गर्छ कि विस्तृत छानबिन गर्छ भन्ने परीक्षाको विषय बनेको छ । सिआइबीका एआइजी उत्तमराज सुवेदी दबाब थेग्न सक्ने अधिकृत मानिन्छन् । यो मुद्दा उनको लागि चुनौतीको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds