जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त -
Comments Add Comment

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

२७ पौष , काठमाडौँ । सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकाया स्याउका बगैँचा व्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।

सिंजा गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर बुढाले बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने समय समेत सुरु भइरहेको बताए । जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाहरुले जनाएको छ ।

धेरैजसो किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए । स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए ।

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोस्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने बताए ।

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७-८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds