Comments Add Comment

Advertisment

SKIP THIS

कर्णालीका विद्यालयमा सधैं पुस्तक अभाव

२८ पुष , काठमाडौं । कर्णाली प्रदेशका विद्यालय तहका पुस्तक व्यवसायी चालु शैक्षिक सत्रकै पाठ्यपुस्तक कर्णालीमा नपुगेको गुनासो लिएर मंगलबार भक्तपुर, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आए। उनीहरूले चालु शैक्षिक सत्रकै पुस्तक विद्यालयमा नपुगेको र नजिकिँदै गरेको वार्षिक परीक्षासमेत विद्यार्थीले बिनाकिताब परीक्षा दिनुपर्ने दयनीय अवस्था रहेको केन्द्रका बजारप्रमुख पार्वती न्यौपानेलाई जानकारी गराए। यति मात्र होइन, उनीहरू केन्द्रसँग कागजको चरम अभाव रहेको थाहा पाएपछि आगामी शैक्षिक सत्रमा पनि किताब अभाव हुने चिन्ता व्यक्त गर्दै फर्किए।

पुस्तक व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष कमल नेपालको नेतृत्वमा आएको टोलीले केन्द्रका प्रमुख अनिलकुमार झालाई पनि भेटेर नयाँ शैक्षिक सत्रका लागि समयमै अर्थात् माघको पहिलो साताभित्र कर्णाली प्रदेशका सबै विद्यालयमा पुस्तक पुर्‍याइदिन अनुरोध गर्‍यो। टोलीमा पुस्तक व्यवसायी जगत् शर्मा, दिलके थापा, चेतनकुमार कँडेल र महेश अधिकारी पनि थिए। चालु शैक्षिक सत्रमा जेजस्तो भए पनि आगामी शैक्षिक सत्रका लागि भने समयमै पुस्तक पुर्‍याउने आश्वासन उनीहरूले केन्द्रका प्रमुख झाबाट पाए। कर्णालीमा नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु हुन्छ। तर केन्द्रले हालसम्म कागजको समेत व्यवस्थापन गर्न सकेको छैन।

गत वर्ष पनि कागजकै अभावमा पर्याप्त पुस्तक छपाउन नसकी कर्णाली प्रदेशका १० जिल्ला सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुम, कालिकोट, दैलेख, जुम्ला, मुगु, हुम्ला र डोल्पाका कक्षा ६ र ८ का विद्यार्थीले किताब पाएनन्। ‘माघमा अन्तिम परीक्षा हुन्छ। विद्यार्थीले पोहोरकै किताब पाएका छैनन्। बिनाकिताब कापीमा मात्र पढाइ पूरा गर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष नेपालले भने, ‘यति मात्र होइन, सुर्खेत डिपोका प्रमुखले गत वर्ष डिपोमा पुगेका किताब पनि वितरण गर्नुभएन। अर्थात् किताब अभावको कृत्रिम समस्या उत्पन्न गराइयो।’ अध्यक्ष नेपालले केन्द्रका बजारप्रमुख न्यौपानेलाई थप अवगत गराए, ‘कमिसनको ठुलो चलखेल नै हुँदो रहेछ। कृत्रिम अभाव देखाएर किताबमा राजनीति गरियो।’ यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै