काठमाडौँको लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति -
Comments Add Comment

काठमाडौँको लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति

३० पुष , काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।

काठमाडौँ क्षेत्र नम्बर–२ की सांसद सोबिता गौतम, नगरपालिकाका मेयर रमेश नापित, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षको उपस्थितिमा आन्दोलनरत पक्षसँगको वार्तामा सहमति भएसँगै विगत केही दिनदेखि भइरहेको आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।

सबस्टेसन निर्माणस्थलमा स्थानीयबाट भइरहेको अवरोध तत्काल स्थगित गर्ने र स्थानीय प्रशासनबाट शान्ति सुरक्षाका लागि परिचालन गरिएका प्रहरीलाई फिर्ता पठाउने निर्णय भएको छ । मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने स्थानीय बासिन्दाको माग थियो । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो ।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भइ सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसन निर्माणस्थल परिसरमा माटो परीक्षणका लागि भइरहेको ड्रिलिङ, सर्वेलगायतका कामहरु पाँच दिन स्थगित गर्ने सहमति भएको छ । यी कामहरु छैटौँ दिनदेखि नियमित रुपमा सञ्चालन गर्न दिने र त्यसमा कसैले पनि बाधा अवरोध नगर्ने/नगराउने सहमति भएको छ । आयोजनाको सकारात्मक/नकारात्मक प्रभावबारे स्थानीयसँग अन्तरक्रिया, मागका विषयमा छलफल गर्न शंकरापुर नगरपालिका वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिले आफ्नो कार्यसूची बनाइ पाँच दिनभित्रमा स्थानीयसँग छलफल तथा मूल्याङ्कन गरी आयोजना समक्ष पेस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds