८ माघ , काठमाडौ । कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागूऔषध चरेससहित पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घर भई भीमदत्त नगरपालिका- ३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उहाँको साथबाट चरेस बरामद गरेको हो ।
धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका-१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।
भट्टको साथबाट ७६ ग्राम लागूऔषध चरेस बरामद भएको उनको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ । दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ ।